मुटुबाट रक्तसञ्चार हुने बेला रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । सामान्य रक्तचाप १२०/ ८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ । १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई ‘प्रि-हाइपरटेन्सन’ भनिन्छ । ‘प्रि-हाइपरटेन्सन’ अवस्थामा रहेको व्यक्तिलाई सामान्य रक्तचाप भएको व्यक्ति भन्दा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । त्यसैले यस अवस्थामा जीवनशैलीमा आवश्यक परिवर्तन गरेर भविष्यमा उच्च रक्तचाप हुनबाट आफूलाई बचाउन सकिन्छ ।उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकोले, आफ्नो जीवनशैलीमा परिवर्तन गरेर नै रक्तचापको नियन्त्रण गर्न खोज्नुपर्छ । त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्णरुपले बन्दगर्नु सबभन्दा राम्रो उपाय हो । यसको अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराहरुको सकेसम्म कम प्रयोग गर्ने जस्ता उपायहरु अपनाउनु पर्छ। जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाह अनुसार औषधि नियमित रुपले खानु र समय समयमा आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सुत्र हो ।
