श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौंथो प्रमुख रोगमध्ये पर्छ । यसबाट अनुमानित प्रतिवर्ष एक लाख २० हजार जनाको मृत्यु भइरहेको हुन्छ । श्वासप्रश्वास दमरोगको मुख्य कारण चुरोट, बिंडी सेवन गर्नु हो । नियमित औषधि र उचित औषधि र परामर्शको कमीले पनि यसलाई बढवा दिइरहेको हुन्छ । एलर्जी वा अन्य कुनै पनि कारणले क्रोनिकरूपमा हुने आस्थामा पनि (दम) रोग लाग्छ । पछिल्लो समय कोरोना सङ्क्रमणबाट पनि श्वासप्रश्वासमा गम्भीर असर परिरहेको छ ।

जुन बिरामी दमको रोगी छ, उसलाई औषधि कसरी प्रयोग गर्ने भन्ने ज्ञान नहुन सक्छ । हामीले औषधिको रूपमा तान्ने क्याप्सुल दिएका हुन्छौँ । त्यसलाई अधिकांशले सही तरिकाले प्रयोग गर्न जानेका हुँदैनन् । गाइड लाइनअनुसार बिरामीलाई डाक्टरले औषधि प्रयोगबारे सिकाउने गरिन्छ । कहाँ–कहाँ गल्ती छ, त्यसलाई सिकाउँदै जाने भन्ने गाईडलाइनमा उल्लेख हुन्छ । फोक्सोको विशेषज्ञहरू सबैले यो काम गर्छन् ।

नियमित परीक्षण र उपचारले दमरोगलाई कम गर्न, नियन्त्रणमा राख्न सकिन्छ । दमरोगको परिभाषा नै रोकथाम गर्न सकिने रोग भनेर राखिएको छ । उपचारको लागि नियमित चिकित्सकको परामर्शमा बस्ने र औषधि सेवन गर्नुपर्छ ।दम (श्वासप्रश्वास) रोगमा जुनजुन चिजले बिगार गर्ने हो, त्यसबाट बच्नुपर्छ । जस्तो धुलोधुवाँ, चिसोबाट बच्नुपर्छ । अनावश्यकरूपमा बाहिर हिँडडुल गर्न हुँदैन । हरेक रोगजस्तै बढी असर वृद्धवृद्धालाई गर्छ । अरू रोगको प्रतिरोधात्मक क्षमता कम हुँदा श्वासप्रश्वास रोगमा पनि लड्ने क्षमता हुँदैन ।

जीवनको उत्तरार्धमा वा ४०-५० वर्षपछि आएर दमरोग देखापर्छ । त्यो अवस्थामा फोक्सोको क्षमता घट्दै जान्छ । छिटो छिटो श्वास फेर्नुपर्ने हुन्छ । क्रमिक रूपमा त्यसको असर अन्य अङ्गमा पनि पर्दै जान्छ । अक्सिजन कम हुने, छिटो थाक्ने गर्नाले मुटुमा असर गर्न थाल्छ । मुटु र फोक्सोको नली जोडिएको हुन्छ । मुटुलाई असर गर्ने भएकोले मुटु पनि फुल्न थाल्छ । खुट्टाहरू सुन्निने, जिउ सुन्निने, अक्सिजन नपुगेर शरीर नीलो हुन थाल्ने हुन्छ । खकारमा रगत पनि आउन थाल्छ ।

अन्य दीर्घ असरमा धेरै छिटोछिटो श्वास फेर्दा वृद्ध अवस्थामा भोक कम लाग्ने, खाना कम खाने र फोक्सोको चालले गर्दा छातीमा भएको मांशपेशीहरू कमजोर हुन थाल्छ । कम खानाले गर्दा मानिस दुब्लाउन थाल्छ । त्यसले उल्टो असर गरिरहेको हुन्छ । त्यसका लागि काउन्सिलिङ गर्नुपर्छ । दमरोगबाट बच्ने उपायमा ६५ वर्षभन्दा बढी उमेर भएकाहरूलाई भ्याक्सिन दिन सकिन्छ । फोक्सोको अन्य रोगी छ भने चिकित्सकीय परामर्शको सल्लाह लिनुपर्छ । खोपले दमलाई केही हदसम्म कम गर्छ ।

हालको स्थितिमा दमको रोगीहरूको हकमा जुन औषधि छ, त्यसलाई तान्ने तरिका सबैलाई थाहा हुनुपर्छ । धेरै ठाउँमा इन्टरनेटको सुविधा भएकोले नेटबाट पनि औषधि तान्ने तरिका दिएको हुन्छ । औषधि तान्नुभन्दा अघि आफ्नो फोक्सो खाली गर्नुपर्छ । त्यसपछि औषधि तानिसकेपछि पाँचदेखि सात सेकेण्ड श्वास रोक्नुपर्छ अनि छोड्नुपर्छ । त्यो औषधि मुखमा रहिरहन्छ । त्यसैले मुख कुल्ला गरिहाल्नुपर्छ । मुख कुल्ला गरिएन भने फंगल इन्फेक्सन हुनसक्छ । धेरै जना बिरामीलाई यो तरिका थाहा हुँदैन । स्वास्थ्यकर्मीहरूलाई समेत दमको औषधि प्रयोग गर्ने तरिका थाहा नहुनसक्छ । अलिकति गाह्रो हुने वित्तिकै विषेशज्ञहरूको सल्लाह लिनुपर्ने हुन्छ ।

औषधिभन्दा धुलो, धुवाँ, चिसो, चुरोटबाट टाढै रहनु नै दमबाट जोगिने प्रभावकारी उपाय हो । कोरोनाको समयमा सामाजिक दुरी, अनिवार्य मास्कको प्रयोग गर्ने र चिसोबाट बच्नुपर्छ । कोरोनाले फोक्सोका रोगीलाई सबैभन्दा बढी असर पारेको छ । दीर्घरोगीलाई कोभिड सङ्क्रमण भयो भने झनै गाह्रो हुन्छ । उसलाई उपचार गर्न र पुरानो अवस्थामा फर्काउन कठिन छ । सहरीकरण, धुवाँ, धुलो, उद्योग, कलकारखानाले गर्दा पनि दमरोगको जोखिमलाई बढाउँछ । यातायातका साधन दिनहुँ बढिरहेका छन् । त्यसमा धुवाँ फाल्ने सवारीसाधन प्रशस्त मात्रामा छन् । यसले पनि मानिसलाई फोक्सो सम्बन्धी रोग लाग्छ ।