डाक्टर साहेब म मदिरा सेवन गर्दिनँ। अनि मलाई कलेजोमा बोसो जम्ने समस्या (फ्याटी लिभर) कसरी हुन्छ र

जटिल अवस्थामा उपचारको लागि आउने धेरैजसो बिरामीले सोध्ने प्रश्न हो यो । उहाँहरू आफू मदिरा सेवन नगर्ने भएकाले कलेजोमा कुनै किसिमको समस्या नहुनेमा अलि बढी नै विश्वस्त देखिनुहुन्छ ।

यसमा मदिरा सेवन नगर्ने व्यक्तिमा कलेजोको समस्या नहुने सामाजिक विश्वासले समेत भरथेग गरिरहेको छ ।

हाम्रो जीवनशैलीमा आएका थुप्रै परिवर्तनले गर्दा मोटोपन र मधुमेहको समस्या सामान्य भएको छ ।

जसले गर्दा ‘नन अल्कोहलिक फ्याटी लिभिर’ अर्थात् गैरमदिराजन्यको कलेजोमा बोसो जम्ने रोगको समस्या उत्पन्न हुन्छ ।

कलेजोमा बोसो जम्ने समस्या अत्यधिक मदिरा सेवन नगर्ने व्यक्तिमा देखियो भने उक्त समस्यालार्ई ‘नन अल्कोहलिक फ्याटी लिभिर’ भनिन्छ ।

यो समस्या अत्यधिक मदिरा सेवन नगर्ने वा अत्यन्त कम मात्रामा मदिरा सेवन गर्ने व्यक्तिमा हुन सक्छ । यसको विस्तार पनि समयमा उपचार नगरेर मदिराले कलेजो बिगारेजस्तै हुन्छ ।

शरीरमा बढी बोसो उत्पादन हुने वा आवश्यक मात्रामा खपत गर्न नसक्ने व्यक्तिको कलेजोमा बोसो जम्ने समस्या देखिन्छ । यस्तो स्थितिमा अतिरिक्त बोसो कलेजोका कोषिकामा जम्मा हुन्छन् । त्यो विस्तारै कलेजोको सिरोसिसमा परिणत हुन्छ । यसको जटिलता पनि उस्तै हुन्छ । एकपटक सिरोसिस भएपछि कुनै प्रभावकारी उपचार सम्भव छैन । यसैले सिरोसिस सुरु हुनुभन्दा अघि नै फ्याटी लिभरको पहिचान र उपचार गर्नु महत्त्वपूर्ण छ ।

नन अल्कोहलिक स्टटोहेपाटाइटिस कलेजोको सुन्नाइ र कलेजोमा बोसो जम्नाले हुने क्षति हो । यो कलेजो रोग हो । पश्चिमा जगत्मा कलेजो प्रत्यारोपण गर्ने एउटा प्रमुख कारण गैरमदिराजन्य कलेजोमा बोसो जम्ने रोग हो । कलेजोमा बोसो जम्ने रोगको समयमै जाँच र उपचार नभए विस्तारै कलेजो कडा हुँदै जान्छ । अझ लामो समयसम्म यसको रोकथाम भएन भने यो ‘सिरोसिस’ र कलेजोको क्यान्सरमा परिणत हुने सम्भावनासमेत हुन्छ ।

निरन्तर बोसो जम्दा कलेजोको आकारसमेत ठूलो हुँदै जान्छ । यसको कोषिकाहरूमा कडापनसमेत बढ्दै जान्छ । हाल विश्वभरि नै यो रोगको प्रकोप बढ्दै गएको छ । आरामदायी जीवनशैली, पश्चिमा शैलीको खानपानले गर्दा यो रोगले महामारीको रूप लिन सक्ने आंकलनसमेतगरिँदै छ ।

जंकफुड, अत्यधिक बोसोयुक्त खाना, मासु, सोडा, कोल्ड ड्रिंक र मदिरा सेवन गर्नेहरूमा कलेजोमा बोसो जम्ने समस्या बढी देखिन्छ । हालको बढ्दो सहरीकरणले गर्दा हाम्रो जीवनशैलीमा धेरै परिवर्तन आएको छ । खानपिनले गर्दाधेरैजसो व्यक्तिमा बढी तौलको समस्या देखियो, मधुमेहको प्रकोपमा वृद्घि भयो । शरीरमा बोसोको मात्रासमेत बढ्दै गयो । यही तीनवटा अवस्था नै कलेजोमा बोसो जम्ने प्रमुख कारण हुन् ।

एउटा स्वस्थ कलेजोमा अलिकति पनि बोसो जमेको हुनुहुन्न । नन अल्कोहलिक फ्याटी लिभर रोगको मुख्य जटिलता सिरोसिस हो । जो कलेजोमा ढिलो गरी पर्ने चिनो (फाइब्रोसिस) हो । सिरोसिस कलेजोमा चोटको प्रक्रियाले गर्दा हुन्छ । यसले कलेजोको सुन्नाइलाई रोक्ने प्रयास गर्छ र यसको लागि यो स्कारिङ क्षेत्र (फाइब्रोसिस) लाई उत्पन्न गर्छ । निरन्तर सुन्नाइसँग फाइब्रोसिस बढीभन्दा बढी कलेजोको तन्तु ग्रहण गर्नको लागि फैलिन्छ ।

यो रोगको मुख्य कारणमा मोटोपना, मधुमेह, हाइपरलिपिडिमिया, आनुवांशिक कारण, कुनै विशेष औषधिको नकारात्मक प्रभावसमेत हुन सक्छ । धेरैजसो व्यक्तिमा यो रोगको कुनै लक्षणसमेत देखिँदैन । धेरैजसो समय कुनै घटना विशेषले पेटको अल्ट्रासाउन्ड गराउँदा यो समस्याबारे थाहा हुन्छ । केही व्यक्तिलार्ई भने यसको लक्षणअन्तर्गत अस्वस्थताको अनुभूति, थकाइ, कमजोरी, वाकवाकी, माथिल्लो दाहिने पेटमा बेचैनी समस्यासमेत देखिने गर्छ ।

यो समस्याको पहिचानअन्तर्गत चिकित्सकले बिरामीको रुटिन, रगत परीक्षण गराउँछन् । यसबाहेक अतिरिक्त परीक्षण हरूसमेत आवश्यक पर्न सक्छ । यसअन्तर्गत अल्ट्रासाउन्ड परीक्षण, सीटी स्क्यान, अपर ग्यास्ट्रो इन्टेस्टाइनल इन्डेस्कोपी, फाइव्रोस्क्यान मात्र नभई कलेजोको बायोप्सीसमेत गर्नुपर्ने हुन सक्छ ।

कलेजोमा बोसो जम्ने रोगको सटिक कारण अझैसम्म ज्ञात छैन । यस्तै, यसको कुनै प्रत्यक्ष उपचार पनि छैन । यसको अप्रत्यक्ष उपचार गरिन्छ । जस्तै, तौलमा कमी र निरन्तर व्यायामको सहयोगले मोटोपना घटाइन्छ । कलेजोमा बोसो जम्ने समस्या देखिएको करिब ७० प्रतिशत व्यक्तिमा मोटोपना देखिएको छ । अझ कलेजोमा बोसो जम्ने समस्या भएका करिब ७५ प्रतिशत व्यक्तिमा टाइप-२ मधुमेह देखिएको छ । कलेजोमा बोसो जमेका करिब २० देखि ८० प्रतिशत व्यक्तिको रगतमा उच्च लिपिड (बोसो) समेत देखिएको छ ।

कलेजोमा बोसो जमेकाहरूमा इन्सुलिन प्रतिरोधी (रेसिस्टेन्ट) अवस्थासमेत देखिएको छ । यो अवस्थामा शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन । तर यो आवश्यक छैन की त्यो व्यक्तिलाई मधुमेह नै भएको होस् । यो रोगको सम्भावित उपचार दीर्घकालीन, जीवनपर्यन्त पनि जारी रहन्छ । व्यक्ति विशेषमा उपचार निर्धारण गर्न कठिनसमेत हुन्छ ।

यो रोगबाट बाँच्न सकारात्मक जीवनशैली, दैनिक व्यायाम, स्वस्थकर खानपान र मुख्य रूपमा आफ्नो सही तौल कायम राख्नु आवश्यक छ । तर यो रोग विकसित नहोस्भनेर केही वर्षको अन्तरालमा अल्ट्रासाउन्ड परीक्षण एवं लिभर फङ्गसन टेस्ट गराउनु सहयोगी हुन सक्छ ।

यसको उपचारमा हाल केही नयाँ औषधिसमेत थपिएको छ । यसअन्तर्गत भिटामिन ‘ई’ र पायोग्लिटाजोन (मधुमेहको औषधि) ले केही मात्रामा सहयोग गरे तापनि यसबारे अझै विश्वसनीय प्रमाण खोज्ने प्रक्रिया जारी छ ।

हालसम्म कलेजोमा बोसो जम्ने समस्याको निवारणका लागि आफ्नो तौलमा उपयुक्त कमी ल्याउनुको साथै नियमित व्यायाम बाहेक अन्य उपाय छैन । तर सुखद कुरा के छ भने कलेजोमा बोसो जमेका धेरै व्यक्तिमा अन्य खतरनाक समस्या विकसित हुँदैन । तथापि केही व्यक्तिमा कलेजोमा बोसो जम्ने रोग समयसँगै झन् नराम्रो अवस्थामा पनि पुग्छ ।

ग्यास्ट्रोइन्टरोलोजिमा डि एम गर्नुभएका डा.पाठक हाल काठमाडौंको चावहिलस्थित ॐ अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा  कार्यरत हुनुहुन्छ ।